ललितपुर । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यास अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने प्रभावकारी मञ्च बनेको छ।
कात्तिक २३ गतेदेखि जारी सम्मेलनमा नेपालले आफ्नै पेभेलियनमार्फत जलवायु परिवर्तनका चुनौती, प्रभावित समुदायका आवाज र अनुकूलनका लागि अपनाइएका उपायबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
नेपालमा पछिल्लो समय भोटेकोसीलगायतका क्षेत्रमा जलवायुजन्य विपद्ले पुर्याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीलाई विश्व समुदायसमक्ष उजागर गर्नुपर्ने आवश्यकताका कारण छुट्टै पेभेलियन स्थापना गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
नेपालले जलवायु परिवर्तनको असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका प्रयास र सफल अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सम्मेलनका साइड इभेन्ट मात्र पर्याप्त नहुने देखिएपछि छुट्टै पेभेलियन आवश्यक भएको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसन्धान अधिकृत तथा नेपाल पेभेलियनका फोकल पर्सन प्रकाश लामिछानेले बताए।
उनका अनुसार पेभेलियन स्थापना गर्ने क्रममा सुरुमा आर्थिक चुनौती देखिएको थियो। आवश्यक स्थानको भाडा मात्रै करिब डेढ करोड रुपैयाँ पर्ने अनुमान गरिएको थियो। सरकारी स्रोतबाट तत्काल उक्त रकम जुटाउन कठिन भएपछि नेपालले विभिन्न माध्यमबाट टर्किए सरकारसँग सहयोगका लागि अनुरोध गरेको थियो।
नेपालको अनुरोधपछि टर्किए सरकारले करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको पेभेलियनस्थल निःशुल्क उपलब्ध गराएको लामिछानेले जानकारी दिए।
कुल ४८ वर्गमिटर क्षेत्रफलमा फैलिएको पेभेलियनमा कार्यालय प्रयोजनका लागि छुट्टै कोठा तथा बाहिर करिब ३० जना सहभागी अट्ने क्षमताको मञ्चसहित कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
स्थान निःशुल्क प्राप्त भए पनि पेभेलियनको सजावट र आवश्यक पूर्वाधार व्यवस्थापन अर्को चुनौती बनेको थियो। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) र कोप आयोजक समितिको व्यवस्थापनमार्फत सजावट गर्दा करिब एक लाख अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको थियो।
तर, ठूलो रकम जुटाउन कठिन भएपछि आयोजकले अन्ताल्याका स्थानीय बजारबाट कुर्सी, टेबललगायत आवश्यक सामग्री खरिद गरी पेभेलियन व्यवस्थापन गरेको लामिछानेले बताए। यसरी व्यवस्थापन गर्दा अनुमानित खर्चको करिब ६० प्रतिशत रकममै काम सम्पन्न गर्न सम्भव भएको उनको भनाइ छ। पेभेलियन व्यवस्थापनमा विकास साझेदार तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाले सहयोग गरेका छन्।
नेपाल पेभेलियनको औपचारिक उद्घाटन नोभेम्बर ९ मा गरिएको थियो। यद्यपि, यसको तयारीका लागि नेपाली टोली नोभेम्बर ३ देखि नै अन्ताल्यामा खटिएको थियो। आवश्यक सामग्री ढुवानी, जडान, व्यवस्थापन तथा प्राविधिक र अन्य लजिस्टिक तयारीका क्रममा भाषागत कठिनाइसमेत सामना गर्नुपरेको लामिछानेले बताए।
पेभेलियनमा सम्मेलन अवधिभर दैनिक न्यूनतम चारदेखि अधिकतम छवटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४७ देखि ४८ वटा कार्यक्रम तय गरिएको छ। ती कार्यक्रममार्फत नेपालको जलवायु सङ्कट, विपद् जोखिम, अनुकूलनका अभ्यास, जलवायु वित्त, हिमाली क्षेत्रका समस्या र जलवायु न्यायका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, नीतिनिर्माता र सरोकारवालाबीच छलफल भइरहेको छ।
लामिछानेका अनुसार नेपाल पेभेलियन कार्यक्रम आयोजना गर्ने स्थलमा मात्र सीमित छैन। जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले भोगिरहेका समस्या, त्यसको न्यूनीकरणका लागि भइरहेका प्रयास र अन्तर्राष्ट्रिय समुदायको दायित्वबारे आवाज उठाउने साझा मञ्चका रूपमा समेत विकसित भएको छ।
नेपालले आफ्ना अनुभव र मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा जलवायु परिवर्तनका क्षेत्रमा भइरहेका राष्ट्रिय प्रयासलाई विश्वव्यापी बहससँग जोड्न पेभेलियनले महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।