काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन्।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन र आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने र भ्रमणलाई नेपालको हितमा उपयोग गर्ने गरी अध्ययन, छलफल तथा अनुभव आदानप्रदान गर्न सुझाव दिएको बताए।
उनका अनुसार प्रधानमन्त्रीले चीनबाट प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन र कृषिको आधुनिकीकरणलगायत क्षेत्रमा लिन सकिने लाभबारे विशेष अध्ययन गर्न आग्रह गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले तयार पारेको भ्रमण तालिकामा पनि यी विषय समेटिएको बुर्लाकोटीले जानकारी दिए।
भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने उनले स्पष्ट पारे। पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको र नेपालको आधिकारिक धारणा यथावत् रहने उनको भनाइ छ।
सीपीसीको निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्नेछ। टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा छन्।