मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार कार्य गरेका थिए। दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट फेला परेको छ। पछिल्लो पटक फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय ईभी चालक रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने अन्य तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।
त्यसैगरी, चितवन रिफर गरिएका तीन जनामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यसरी दुर्घटनामा सवार २० जनामध्ये १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ।