चन्दा क्षेत्री/काठमाडौं
अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै रास्वपाका महिला सांसदले सरकारमाथि दबाब बढाएका छन् । कार्तिक १२ देखि अनशनमा रहेका डा. केसीका माग पूरा गर्न भन्दै सरकारको नेतृत्व गरिरहेको रास्वपाका तीन सांसदले फेसबुकबाट नै दबाब दिएका हुन।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति समेत रहेकी सांसद समीक्षा बास्कोटाले डा. केसीका माग पूरा गर्न सरकारलाई भनेकी छन्। उनले सामाजिक संजाल फेसबुकमा शुक्रबार लेखेकी छन्, ‘हामी हिजो गलत थियौ कि आज? सम्बन्धित मन्त्रालयले स्पष्टता दिनुपर्छ। आवश्यक पहल र निर्णय लिन ढिला नगरौं,’ बास्कोटाले फेसबुकमा लेखेकी छन्। उनले विगतमा डा. केसीको पक्षमा लाग्ने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायतका नेताहरूलाई पहिले गलत थियौ कि आज भनी प्रश्न गरेकी हुन्।
डा. केसीले आफ्ना माग राखेर अनुशनमा बसेका हुन्। उनले राखेका प्रमुख माग यस्ता छन्:
– मेडिकल शिक्षा सञ्चालन गर्दा न्यूनतम पूर्वाधार र शैक्षिक मापदण्ड अनिवार्य पालना।
– गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन।
– चिकित्सा शिक्षा आयोगका विवादित नियुक्ति तथा निर्णयमाथि स्वतन्त्र छानबिन।
– सरकारी लगानी भएका संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित।
– विगतका सरकारी सहमति कार्यान्वयन।
– इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल शिक्षण संस्था विस्तार।
रास्वपा सांसद डा. तोसिमा कार्कीले भने शिक्षामन्त्री सस्मित पोखरेलसँगै परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पनि फेसबुकमा प्रश्न गरेकी छन्। उनीहरुले विगतमा केसीका पक्षमा लगाएका नारा पनि कार्कीले स्मरण गराएकी छन। ‘माइतिघर- बानेश्वरमा पटक पटक घन्काइएका यि नाराहरु याद छ ? डा केसी पागल हुन् भने “म पनि पागल हुँ” भनेर आ-आफ्नो निधारमा बाँधेको त्यो फेटा याद छ ?
विगतका हरेक सरकारले डा. केसी सँग गरेका सम्झौता र (यहि सरकारले गरेको सम्झौता समेत)अब यहि “हाम्रो” सरकारले कार्यान्वयन गर्नुपर्छ। डा. केसी एक्लै लडेका होईनन् तपाई हामी सँगै लडेका थियौँ। अब ति मुद्दाहरुलाई मुकाममा पुर्याउने दायित्व बहन गरौँ । त्यो बृद्ध शरीरलाई यातना नदिऔँ। डा. केसीसँग आजै वार्ता सम्पन्न गरी उहाँको जिवन रक्षा गरियोस्,’ कार्कीको माग छ।
डा. गोविन्द केसीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिकबाट चिन्ने र अभियानको समर्थन गर्नेहरु नै क्याबिनेटमा हुँदा पनि ६ महिनामा दुई पटक अनशन बस्नुपर्ने अवस्था आइसक्नु राम्रो सन्देश नभएको पनि कार्कीको भनाइ छ। ‘यहि सरकारले अघिल्लो सत्याग्रहमा गरेका सहमति पनि कार्यन्वयन किन भइरहेको छैन भन्ने प्रश्न पेचिलो छ। स्वास्थ्य स्थिती गम्भिर हुँदैछ, रगतमा सुगरको मात्रा घट्यो, विपी घट्यो, मुटु दुख्ने, मांशपेसी दुख्ने स्थिती आइसक्यो भन्ने स्वास्थ्य अलर्ट आउँदा जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला’, कार्कीले लेखेकी छन, ‘तत्काल वार्ता गरी समहमति गरियोस् । कार्यन्वयन गरियोस्। भावि दिनहरुमा समयमै स्थिती पहिचान गर्ने, छलफल गर्ने, आवश्यक समन्वय गर्ने गरियोस्। त्यो सत्य र निष्ठाको धरोहरले यो ईमानको राज्यमै पनि बृद्ध भइसकेको शरीरमार्फत पटक पटक अग्नी परिक्षा दिनुपर्ने स्थिति नबनाइयोस्।’
रास्वपाकी अर्की सांसद रन्जु दर्शनाले पनि डा. केसीको सम्बन्धमा आफ्ना धारणा राखेकी छन। उनले सरकारलाई सोधेकी छन, ‘डा. केसीका माग सम्बोधन गर्ने सहमति गर्न नसकिने हो भने अघिल्लो पटक किन सहमति गरिएको थियो?’
डा. केसीका माग सधैँ चिकित्सा शिक्षा क्षेत्रको सुधार र आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको सांसद दर्शनाको भनाइ थियो। ‘डा. केसी न विवेकशीलका हुन्, न रास्वपाका, न कांग्रेस–एमाले–माओवादी वा अन्य कुनै दलका। उहाँ कसैका हुनुहुन्न, तर सबैका हुनुहुन्छ। अझ भन्नुपर्दा, उहाँ दिनदुःखी र निम्न तथा मध्यम वर्गका नागरिकको अलि बढि हुनुहुन्छ,’ उनले भनेकी छन।
सरकारले सबैभन्दा पहिले डा. केसीको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने पनि सांसद दर्शनाको भनाइ छ। ‘उहाँका माग जायज छैनन् भने तथ्य र तर्कसहित छैनन् भन्न सक्नुपर्छ। तर माग सम्बोधन गर्ने सहमति गरिसकेपछि त्यसबाट पछि हट्ने र एउटा वृद्ध शरीरलाई पटक–पटक जीवन नै जोखिममा पर्ने गरी दुःख दिने काम गर्नु हुँदैन, सरकार’, उनले सरकारलाई भनेकी छन्। डा. केसी र उनको सत्याग्रह समस्या नभएको बताउँदै सांसद दर्शनाले पटक–पटक सत्याग्रह गर्नुपर्ने अवस्था सिर्जना हुनु वास्तविक समस्या भएको बताइन। ‘सत्य र न्यायका लागि कसैले बारम्बार आफ्नो जीवन नै दाउमा राख्नुपर्ने अवस्था आउनु भने समस्या हो। साथीहरूलाई मेरा कुरा चित्त बुझ्ला, नबुझ्ला त्यो आफ्नो ठाउँमा छ। तर सत्यको आग्रह कुनै दल, सत्ता वा प्रतिपक्षको सुविधाअनुसार बदलिँदैन। त्यसप्रतिको अडान निरन्तर रहिरहन्छ’, उनले भनेकी छन।
नेपाल चिकित्सक संघले डा. केसीको २५औँ आमरण अनशनलाई समर्थन गरेको छ। डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएकाले जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ। इलामबाट २५औँ अनशन थालेका केसी हाल काठमाडौंमा छन्।