काठमाडौँ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ।
२५औँ पटक आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै संघले उनको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरी माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा संघले डा. केसी अनसन बसेको नौ दिन बितिसक्दा पनि सरकारले उनका जायज मागप्रति बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस विषयमा संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाजका प्रतिनिधि, अस्पताल निर्देशक, आवासीय चिकित्सक तथा अन्य चिकित्सकहरूको उपस्थितिमा बैठक बसेर विस्तृत छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ।
संघले डा. केसीका माग तत्काल सम्बोधन गरी उनको अनसन अन्त्य गर्ने वातावरण बनाउन सरकारसँग पुनः जोडदार माग गरेको छ।
साथै, ४८ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिँदै संघले त्यसबाट सर्वसाधारणको स्वास्थ्य सेवामा पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने जनाएको छ।
डा. केसीको जीवन रक्षाका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने संघको जोड छ।