काठमाडौं । सञ्चारमाध्यमको सम्पादकीय कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विरोधमा सञ्चारकर्मीले प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र पत्रकारमाथिको धरपकड रोक्न माग गरेका छन्।
प्रदर्शनकारीले ‘वी वान्ट डेमोक्रेसी एन्ड प्रेस फ्रिडम’, ‘लोकतन्त्र पुनःबहाली’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद’, ‘प्रेसमाथिको दमन बन्द गर’ र ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनमा बोल्दै शुक्रबार नियन्त्रणमा परेर छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु दुःखद् भएको बताए। अनौपचारिक पोसाकमा आएका प्रहरीले पक्राउ पुर्जीबिनै आफूलाई नियन्त्रणमा लिएको उनको आरोप थियो। सञ्चारमाध्यममाथि राज्यले आक्रमण सुरु गरेको भन्दै उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको हनन भएको बताए।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु राज्यबाट सिर्जित अपराध भएको बताए। सरकारलाई होसमा फर्किएर प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गर्दै उनले कानुनी सीमाभित्र नफर्किए सरकार थप कलंकित हुने चेतावनी दिए। यस्ता गतिविधिले सरकारको पतन निश्चित हुने उनको भनाइ थियो।
पत्रकार शोभराज बरालले भने प्रहरीले अनौपचारिक पोसाकमा सञ्चार कक्षमा पुगेर ‘कालो चिया पिउने’ भन्दै केरकार गरेको बताए। पछि साइबर ब्युरो पुर्याएर माथिल्लो निकाय र प्रधानमन्त्री कार्यालयको निर्देशनमा पक्राउ गरिएको तथा आफूहरूले आदेश मात्रै पालना गरेको प्रहरीले बताएको उनको भनाइ थियो।
शुक्रबार नियन्त्रणमा लिइएका पत्रकारलाई राति साढे ८ बजे रिहा गरिएको प्रदर्शनमा सहभागी पत्रकारहरूले बताए। समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने र त्रास फैलाउने सरकारी गतिविधिले सरकार तानाशाही बन्दै गएको उनीहरूको आरोप थियो। यस्ता गतिविधि जारी रहे सरकारको पतन निश्चित हुने उनीहरूले चेतावनी दिए।