काठमाडौँ । गैरकानुनी रूपमा ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। प्रहरीका अनुसार उनले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र खेलाउने गर्नुका साथै अवैध रूपमा ठूलो परिमाणमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी यादवलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।