काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि भने यी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ।
हाल देशका अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांशतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बादल लाग्नेछ।
कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।
आज राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै, आइतबार देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।