काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
यसअघि प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए । मैनालीलाई नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो ।
साँझ मात्रै प्रहरीले पत्रकार मैनाली र नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तलाई भोलिपल्ट साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै कार्यालयबाट फर्किएको थियो ।