काठमाडौँ। देशभर बिहीबार मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले पाकिसकेको धान तत्काल नकाट्न सुझाव दिएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार बेलुकादेखि शनिबारसम्म हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार बिहीबार देशका अधिकांश स्थानमा मौसम बदली हुनेछ। केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने सम्भावना छ। भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उनले बताइन्।
‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ । केही ठाउँहरुमा हल्कासम्म वर्षाको सम्भावना रहन्छ । बेलुका भने हल्कादेखि मध्यमसम्म थोरै स्थानहरुमा आउन सक्ने सम्भावना छ, साथै बेलुकाबाट नै उच्च हिमाली तथा पहाडी भूभागहरुमा हिमपातको सम्भावना रहन्छ । आज बेलुकाबाट शनिवारसम्म हामीले विशेष सतर्कता अपनाउन आग्रह गरेका छौँ, विशेष गरी उच्च पहाडी र हिमाली भूभागहरुमा बढी सतर्क हुनुपर्ने देखिन्छ । अरु स्थानहरुमा मध्यम, हल्कादेखि मध्यमसम्म वर्षाको धेरै ठाउँमा सम्भावना छ । भारी वर्षाको धेरै थोरै ठाउँहरुमा सम्भावना रहेको छ । अब धान काट्नेलाई पाकिसकेको धानलाई चाहिँ अब हामीले अगाडि नै भनेका थियौँ, अब चाहिँ काट्नु राम्रो हुँदैन, अब यो इभेन्ट सकिसकेपछि धान काट्नलाई केही फरक पर्दैन ।’
पोखरेलले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पाकिसकेको धान काट्ने काम तत्काल रोक्न सुझाव दिइन्। मौसमको यो अवस्था सकिएपछि आइतबारदेखि धान काट्न सकिने उनको भनाइ छ।