काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारी कदमप्रति आपत्ति जनाउनुभएको छ। उहाँले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न माग गर्नुभएको छ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकार पक्राउ परेको तथा नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरिएको घटनाको निन्दा गर्दै शिवाकोटीले सरकारको कदमलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा टिप्पणी गर्नुभएको हो।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले लोकतन्त्रमा सरकार र राज्यका निकायमाथि प्रश्न उठाउनु तथा आलोचना गर्नु स्वतन्त्र प्रेसको संवैधानिक अधिकार र लोकतान्त्रिक दायित्व भएको उल्लेख गर्नुभएको छ।
समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने, तर्साउने र धरपकड गर्ने कार्य लोकतान्त्रिक सरकारका लागि शोभनीय नभएको उहाँको भनाइ छ। सरकारले प्रश्न गर्नेहरूको मुख थुन्ने र कलम रोक्ने प्रयास गर्नुभन्दा सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिन सक्नुपर्ने उहाँले बताउनुभएको छ।
कानुनी शासनको नाममा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता संकुचित गर्ने अधिकार सरकार वा सरकारी निकायका अधिकारीलाई नभएको उल्लेख गर्दै शिवाकोटीले पत्रकार वा सञ्चारमाध्यमबाट कानुनविपरीत काम भएको भए स्थापित कानुनी प्रक्रिया र स्वतन्त्र न्यायिक प्रणालीमार्फत त्यसको निरूपण हुनुपर्ने धारणा राख्नुभएको छ।
सरकारका पछिल्ला गतिविधिप्रति पूर्ण असहमति जनाउँदै उहाँले पत्रकारमाथिको धरपकड तत्काल रोक्न र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।
आफू प्रजातन्त्रवादी र नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सञ्चारकर्मीको पक्षमा उभिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
‘लोकतन्त्रको पहरेदार स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन,’ शिवाकोटीले भन्नुभएको छ।