काठमाडौँ– पछिल्लो २४ घण्टामा मनाङमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनाङको तालस्थित मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो।
यस अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त क्षेत्र तथा सडक किनारमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई समेत महाशाखाले अनुरोध गरेको छ।