काठमाडौं । कृषि फार्म सञ्चालनका लागि सहुलियत अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन (तिलक बुढाथोकी) र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहजै सहुलियत अनुदान मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारेका थिए । सोही प्रलोभन देखाएर उनीहरूले पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर दुवैलाई हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।