काठमाडौं। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। ‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने अभियानलाई चाडपर्व सुरक्षा योजनाको प्रमुख आधार बनाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले नागरिकबाट समयमै प्राप्त हुने सूचनाले अपराध तथा दुर्घटना रोक्न सहयोग पुग्ने बताए । उनले भने, ‘कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त हुन्छ भने आफैँमा सीमित नराखेर नजिकको प्रहरी कार्यालयलाई सूचना दिनुस् ।’
प्रहरीका अनुसार नागरिकले दिएको सूचनाको गोपनीयता कायम गरिनेछ । आपत्कालीन अवस्थामा १०० नम्बरमा निःशुल्क फोन गर्न सकिनेछ भने सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४ घण्टा फोन उठ्ने व्यवस्था गरिएको छ ।
चाडपर्वमा डिजिटल ठगी, गलत सूचना र डीपफेक सामग्रीमाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । नक्कली अनलाइन सपिङ तथा अफर, लोटरी र गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट, डिजिटल वालेट तथा मोबाइल बैंकिङ ठगी र ओटीपी, पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ । काफ्लेले भने, ‘एआईबाट बनाएका आवाज, भिडियो वा आफन्त तथा अधिकारीको नाम आएको असामान्य रकम माग्ने सन्देशलाई तुरुन्त विश्वास नगर्नुहोस्, ठगी हुन सक्छ ।’
५० हजारभन्दा बढी प्रहरी परिचालन
बडादसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ । यात्रुको सुरक्षाका लागि देशभर ४०८ र भारत तथा चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका, प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी पैदल, मोबाइल, क्यूआरटी, एलआरपी, एसआरपी तथा क्रस पेट्रोलिङ परिचालन गरिएको प्रहरीले जनाएको छ । चोरी, डकैती, लुटपाट, जुवातास, अवैध सट्टेबाजी, कालोबजारी तथा सार्वजनिक स्थलका उच्छृंखल गतिविधिमाथि विशेष निगरानी राखिनेछ ।
प्रहरीले अपराध भएपछि अनुसन्धान गर्नेभन्दा घटना हुन नदिने रणनीतिमा सुरक्षा योजना केन्द्रित गरेको जनाएको छ । प्रमुख बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, चोक, सीमा नाका र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा सीसीटीभी तथा ड्रोनमार्फत निगरानी बढाइएको छ ।
यात्रु र घर छाड्ने नागरिकलाई पनि सतर्कता
चाडपर्वमा हुने यात्रालाई सुरक्षित बनाउन सवारी छुट्ने स्थानमै चालकको लाइसेन्स तथा मादक र लागुपदार्थ सेवन परीक्षण गरिनेछ । लामो दूरीका सवारीमा दुई चालकको व्यवस्था, मेकानिकल परीक्षण तथा क्षमताभन्दा बढी यात्रु राख्ने र टिकटमा कालोबजारी गर्ने गतिविधिमाथि निगरानी गरिने प्रहरीले जनाएको छ ।
लामो समय घरबाहिर जाने नागरिकलाई घर खाली रहेको सूचना सामाजिक सञ्जालमा नराख्न, झ्यालढोका बन्द गर्न तथा ग्यास र विद्युत् जाँच गरेर मात्र निस्कन प्रहरीले आग्रह गरेको छ । भीडभाडमा नगद, गरगहना र महँगा सामग्री बोकेर हिँड्दा पनि सावधानी अपनाउन भनिएको छ ।
सम्भावित विपद्का लागि खोज, उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी विपद्सम्बन्धी सूचना प्रवाह तथा सडक अवरोध हटाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।