काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तोकिएको समयभित्र सम्बन्धित निकायको सम्पर्कमा नआउने फरार व्यक्तिहरूको बैंक खाता रोक्का गर्न लागिएको जानकारी दिएका हुन् ।
वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले गत कात्तिक ९ गते सूचना जारी गर्दै तोकिएको अवधिमा उपस्थित नभए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने जनाएको थियो ।
विभागका अनुसार सूचनाको म्यादभित्र सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिनेछ । यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरिएको मन्त्री यादवले बताएका छन् ।
विभागले सम्बन्धित शाखालाई फरार व्यक्तिहरूको सूची तयार गरी राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ३५ दिनको समयसीमा पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने जनाइएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गरी फरार हुने व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्न र उनीहरूलाई कानुनी दायरामा ल्याउन यो कदम प्रभावकारी हुने सरकारको अपेक्षा छ । साथै, ठगीबाट पीडित भएकाहरूलाई न्याय दिलाउने र वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालय तथा विभागले प्रक्रिया अघि बढाएका हुन् ।