काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न क्षेत्रका १९ विधाका करदातालाई सम्मान गरेको छ ।
आन्तरिक राजस्व विभागले आइतबार आयोजना गरेको विशेष कार्यक्रममा ठूला व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसायी र व्यक्तिगत करदातालाई सम्मान गरेको हो । यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकामा यस वर्ष विधा बढाएर १९ पुर्याइएको छ ।
निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल पुरस्कृत भएका छन् ।
कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स एन्ड फिड्स, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन् । पर्यटन व्यवसायतर्फ सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्सले सम्मान पाएका छन् ।
त्यस्तै, वार्षिक ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड पुरस्कृत भएका छन् । व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह सम्मानित भएका छन् ।
मूल्य अभिवृद्धि कर विवरण र कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी सम्मानित भएको छ । वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी पुरस्कृत भएको छ ।
विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन् ।
उत्कृष्ट करदातालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायतले सम्मान गरेका थिए ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन मंसिर १ को स्मरणमा सरकारले २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।