काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग छलफल गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
थापाले टोखा–छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोटका बाढी प्रभावितसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसपछि उनी रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टर पुगेर प्रभावितका समस्या र अवस्थाबारे जानकारी लिनेछन् ।
त्यसपछि नुवाकोट फर्किएर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग छलफल गर्ने कार्यक्रम छ । विदुरमा बाढी प्रभावित सरोकार समितिका प्रतिनिधिसँग पनि उनले भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।
थापाले नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा रसुवा र नुवाकोटका प्रभावितलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको समेत अवलोकन गर्नेछन् । सो क्रममा प्रभावित परिवारको अवस्था, उनीहरूले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
त्यसपछि देवीघाट हुँदै धादिङको गल्छी र गजुरी पुगेर बाढी प्रभावितसँग छलफल गर्ने कार्यक्रम छ । गल्छीबाट उनी काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।
भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था बुझ्न तथा पीडितका समस्या र आवश्यकताबारे जानकारी लिन सभापति थापा स्थलगत भ्रमणमा निस्किएका हुन् ।