काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध बैंकिङ कसुरको अनुसन्धानका लागि अदालतले पक्राउ अनुमति जारी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै बानियाँलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन पक्राउ अनुमति लिइएको सीआईबीका एक अधिकृतले बताएका छन् ।
२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको जनाइएको छ । यसअघि कात्तिक १६ गते उनका छोरा दिक्षान्त बानियाँलाई सीआईबीले पक्राउ गरेको थियो । छोरामाथि अनुसन्धान भइरहेको सोही प्रकरणमा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसअनुसार खर्च नगरी अन्यत्र लगानी गरिएको अनुसन्धानमा देखिएको सीआईबीका एक अधिकृतले बताएका छन् ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा जम्मा गर्नुका साथै सेयरमा समेत लगानी गरिएको पाइएको प्रहरीले जनाएको छ ।
बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँले कर्जाको रकम तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले कर्जाको दुरुपयोगलाई कसुर मानेको छ ।
यसअघि अर्को मुद्दामा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न पनि सीआईबीले अदालतबाट अनुमति लिएको थियो ।