काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेका छन् । त्यसका लागि एनपीएलमा सहभागी आठवटै टोलीका आफ्नै क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन् ।
एनपीएलको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् । रंगशाला निर्माणको जिम्मेवारी सरकारको पूर्वाधार विकास मन्त्रालयले लिने उनले बताएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढिसकेको छ । आगामी तीन महिनाभित्र अन्य सातवटै रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिनेछ ।
घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
त्यस्तै, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तथा चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना छ ।
प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि सरकारले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठवटै टोलीका आफ्नै रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने उनको भनाइ छ ।