काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकको तेस्रो दिन अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा र सुझावबारे स्पष्ट पारेपछि प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
एमालेका अनुसार बैठकमा सचिवालयका सदस्य, पार्टी पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूले राजनीतिक प्रतिवेदनसहित समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त तथा उपमहासचिवहरू लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठले धारणा राखेका थिए ।
त्यसैगरी सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतले पनि बैठकमा आफ्ना विचार प्रस्तुत गरेका थिए । आयोगका अध्यक्षहरू भरत पहारी र डा. पुष्प कँडेलले समेत बैठकमा धारणा राखेका थिए ।
बैठकमा ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले राजनीतिक प्रतिवेदन र पार्टीका समसामयिक विषयमा सुझाव तथा धारणा राखेको एमालेले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार केन्द्रीय कमिटीको जारी बैठक बिहीबार मध्याह्न १२ः३० बजे भनिमण्डलस्थित रामबाग भवनमा पुनः बस्नेछ ।
त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।