काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनेदेखि बदनाम गराउनेसम्मका सबै प्रयास असफल भएको दाबी गरेका छन्।
मंगलबार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले ओलीलाई भौतिक रूपमा समाप्त पार्ने, लामो समय जेलमा राख्ने, पार्टी जिम्मेवारीबाट विमुख गराउने र बदनाम गर्ने प्रयास भएको दाबी गरे। पार्टीभित्रकै केही नेताले राज्य संयन्त्रको दुरुपयोग गरेर ओलीविरुद्ध अभियान चलाएको आरोपसमेत उनले लगाए।
जारी केन्द्रीय कमिटी बैठकमा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिँदै बस्नेतले खाजा समयसम्म ४१ जनाले बोलेको बताए। उनका अनुसार चार–पाँच जनाले आलोचनात्मक धारणा राखे पनि ३६ जनाले ओलीको प्रतिवेदनलाई समर्थन गरेका छन्। ‘अध्यक्षविरुद्धका सबै प्रयास असफल भए,’ उनले भने।
बस्नेतका अनुसार बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीभित्र विशेष महाधिवेशन बोलाउने वा त्यसको नेतृत्व गर्ने आफ्नो मनसाय नरहेको बताएका छन्। अध्यक्षको राजनीतिक प्रतिवेदन र आफ्नो धारणाबीच फरक नरहेको उनीहरूले स्पष्ट पारेको बस्नेतले बताए।
पार्टीको आन्तरिक जीवनमा देखिएका समस्यामाथि छलफल गर्दै केन्द्रीय कमिटी बैठकले समाधान निकाल्ने उनको विश्वास छ।