काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालनजिकै सडक पेटीमा एक महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति गम्भीर प्रश्न उठाएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा प्राप्त गर्ने स्वास्थ्य सेवामा ठूलो अन्तर देखिएको बताइन् ।
नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको र मातृ मृत्युदर घटिरहेको भन्दै गर्व गर्ने गरिएको उल्लेख गर्दै उनले संघीय सरकारी अस्पतालकै नजिक सडक पेटीमा महिलाले प्रसूति गराउनुपर्ने अवस्था आउनुले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको वास्तविक अवस्था उजागर गरेको बताइन् ।
उनले भनिन्, “हामी गर्व गर्ने गर्थ्यौं– नेपालमा संस्थागत प्रसूति निःशुल्क छ । आमा सुरक्षा कार्यक्रम छ । मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्चसमेत दिइन्छ ।”
तर, गजेन्द्र नारायण सिंह अस्पतालजस्तो संघीय सरकारी अस्पतालको नजिकै एउटी आमाले सडक पेटीमा बच्चा जन्माउनुपर्ने घटनाले स्वास्थ्य प्रणालीको ‘रिपोर्ट कार्ड’ नै सार्वजनिक गरिदिएको उनको भनाइ थियो ।
सांसद कार्कीले संविधानमा स्वास्थ्यको हकसँगै सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार लेखिए पनि कागजमा उल्लेख गरिएको निःशुल्क सेवा र नागरिकले व्यवहारमा पाउने वास्तविक स्वास्थ्य सेवाबीच यति ठूलो दूरी किन रहेको भन्दै प्रश्न गरिन् ।
प्रसूति पीडामा अस्पताल पुग्ने महिलाको तत्काल ट्रायाज तथा आकस्मिक क्लिनिकल मूल्यांकन सुरु हुनुपर्ने उल्लेख गर्दै उनले उक्त घटनामा त्यसो गरिएको थियो कि थिएन भन्ने प्रश्न उठाइन् ।
“प्रसूति पीडामा अस्पताल पुग्ने महिलाको तत्कालै ट्रायाज र इमर्जेन्सी क्लिनिकल असेसमेन्ट सुरु गर्नुपर्छ । त्यो सुरु भयो कि भएन?” उनले प्रश्न गरिन् ।
उनले प्रसूति पीडामा रहेकी महिलाको तत्काल मातृ मूल्यांकन सुरु गर्नुपर्ने र लेबर पेनमा रहेकी महिलालाई अस्पतालमा भर्ना गरी निरन्तर निगरानीमा राख्नुपर्ने बताइन् ।
“लेबर पेनमा, प्रसूति पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर ‘तपाईं कतै नजानुस् है, तपाईंको प्रसव सुरु भइसकेको छ । हामी निरन्तर हेर्छौं । कहीँ नजानुस्, गाह्रो भयो भने तत्काल हामीलाई खबर गर्नुस् है’ भन्नुपर्ने थियो । त्यो भनियो कि भनिएन?” उनले प्रश्न गरिन् ।
सांसद कार्कीले उक्त घटनाको छानबिनसँगै अस्पतालमा उपलब्ध प्रसूति सेवा, आकस्मिक उपचार प्रक्रिया र सेवाग्राहीले भोग्नुपरेको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने संकेत गरेकी छन् ।