काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित लो स्कोरिङ खेलमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो । यो जितसँगै सुदूरपश्चिमले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
६ खेलमा चौथो जित निकालेको सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ८ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानको काठमान्डु गोर्खाजभन्दा पछाडि छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुरको भने ६ खेलमा यो चौथो हार हो । ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए । राहुल यादवले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर अनिल शाह २, ह्यारी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४ र अभिषेक तिवारी २ रनमा आउट भए । ललित राजवंशी खाता नखोली पभेलियन फर्किए ।
निसम र ललितले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी जनकपुरको इनिङ्सकै ठूलो साझेदारी बन्यो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए । हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । थरिन्दु रत्नायके २७ रनमा अविजित रहे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।
आरिफ शेखले ११ तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १० रनको योगदान दिए ।
जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नै सुदूरपश्चिमको इनिङ्समा सबैभन्दा ठूलो बन्यो । त्यसपछि लगातार विकेट गुमाएको सुदूरपश्चिमले अपेक्षाकृत ठूलो योगफल बनाउन सकेन ।
जनकपुरका कप्तान हरमीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए ।
एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी ह्यारी टेक्टरले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्रै खर्चिए ।
लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ भने जनकपुरले चितवन राइनोजको सामना गर्नेछ ।