काठमाडौं। नेकपा (एमाले)की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले नागरिकका समस्या समाधान गर्नुभन्दा सरकार प्रतिपक्षको आलोचना गर्न बढी केन्द्रित भएको टिप्पणी गरेकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि लाइनमा बसेका नागरिकका समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताइन्। सरकारनिकट सामाजिक सञ्जालका पेजबाट प्रतिपक्षको आलोचना भइरहेको भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्।
‘के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ?’ उनले प्रश्न गरिन्।
ठूलो जनमतसहित आएको सरकारले परिणाम देखिने गरी काम गर्न नसकेको भन्दै अर्यालले नागरिकका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गरिन्। उनले सरकारको कार्यक्षमतामाथि समेत प्रश्न उठाइन्।
प्रविधिको विकास आफैंमा समस्या नभए पनि त्यसको विकृत प्रयोगले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको उनको भनाइ थियो। बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई उमेर र वर्गीकरणका आधारमा व्यवस्थित गर्न मापदण्ड बनाउन उनले सरकारसँग माग गरिन्।
‘हाम्रो प्रश्न प्रविधिप्रति छैन । हाम्रो प्रश्न प्रविधिलाई जुन विकृत ढङ्गले प्रयोग गरिएको छ, त्यसप्रतिको आज हाम्रो प्रश्न छ,’ अर्यालले भनिन्।
अर्यालले गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नसमेत माग गरिन्।