काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक प्रभावबाट मुक्त गरी थप सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्तलाई राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोज्ने गरेको आरोप लगाए ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सिंहले वडा तहदेखि केन्द्रसम्म भ्रष्टाचार संस्थागत भएको दाबी गरे । प्रहरीको मुद्दा फाँट, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा सर्वसाधारणले घुस नदिई काम गराउन कठिन रहेको उनले बताए ।
ठूला भ्रष्टाचारका काण्डमा अख्तियार मौन बस्ने तर साना कर्मचारीलाई मात्र कानुनी दायरामा ल्याउने गरेको भन्दै उनले अख्तियारको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘जबसम्म सरकारी वकिलले आर्थिक प्रभावमा परेर मुद्दालाई बलियो वा कमजोर बनाउने काम गरिरहन्छन्, तबसम्म मुलुकमा सुशासन सम्भव छैन,’ उनले भने ।
अदालत र अख्तियारजस्ता निकायमा बिचौलियाको प्रभाव बढेको दाबी गर्दै सिंहले कानुनको नजरमा सबै समान हुनुपर्ने बताए । संवैधानिक निकायमा सेवानिवृत्त कर्मचारीलाई नियुक्त गर्ने प्रथा अन्त्य गरी नियुक्ति प्रक्रिया सुधार गर्नुपर्ने उनको सुझाव थियो ।
संवैधानिक निकायका प्रमुखहरू प्रधानमन्त्रीको निम्तोमा बालुवाटार धाउने परम्परा अन्त्य हुनुपर्ने भन्दै उनले पदाधिकारीले आफ्नो पदको गरिमा र संस्थाको स्वतन्त्रता कायम राख्नुपर्ने बताए ।
सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धानजस्ता निकायलाई प्रभावकारी बनाइए अख्तियारमाथिको निर्भरता पनि घट्ने सिंहको भनाइ थियो ।