काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताएका छन्। संविधान, पार्टी विधान र अदालतको आदेशले तोकेको समयसीमाभित्रै महाधिवेशन गर्नुपर्ने भएकाले अब समयको चापलाई ध्यानमा राखेर कार्यतालिकाअनुसार अघि बढ्न उनले निर्देशन दिएका छन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भइसकेको बताए। केन्द्रीय कार्यसमितिले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम मिति तय गरिसकेकाले सोही मितिलाई आधार बनाएर जिल्ला तथा अन्य तहका अधिवेशन अघि बढाउन उनले आग्रह गरे।
क्रियाशील सदस्यताको विवरण यसपटक डिजिटल प्रणालीमा व्यवस्थित गरिएकाले विगतभन्दा प्रक्रिया सहज हुने अपेक्षा रहेको उनले बताए। सदस्यता व्यवस्थापन तथा अधिवेशन प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा उनले सचेत गराए।
‘हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ,’ थापाले भने, ‘निष्पक्ष र पारदर्शी ढङ्गले काम सम्पन्न गर्नुपर्नेछ।’
उनले जिल्ला तहका अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापकलगायत विभिन्न पेसाकर्मीलाई सहभागी गराउँदै प्रक्रिया व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। विधानका नयाँ व्यवस्था, निर्वाचन निर्देशिका र नियमबारे स्पष्ट भएर अघि बढे भविष्यमा आउन सक्ने कानुनी जटिलता कम हुने उनको भनाइ थियो।
थापाले निर्वाचन समितिलाई जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै महाधिवेशन प्रक्रियामा सबै पक्षले अपनत्व महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए।