काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई संसदीय मर्यादा र गरिमा कायम राख्न निर्देशन दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै तामाङले थप प्रश्न गर्न समय मागेपछि मंगलबारको बैठकमा सभामुख र उनीबीच केहीबेर भनाभन भएको थियो।
तामाङले उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै तामाङले थप स्पष्टीकरण मागेकी थिइन्। सभामुख अर्यालले भने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार थप प्रश्नका लागि समय दिन नमिल्ने जानकारी गराए।
सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि तामाङले प्रश्न गर्न पाउनुपर्ने अडान राखेपछि अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए।
थप बोल्ने समय नपाएपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन्।