झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई प्रतिगमनविरुद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियान शुभारम्भ कार्यक्रममा ओलीले वडा तहदेखि संगठन सुदृढ गर्दै हरेक क्षेत्रमा जित हासिल गर्ने लक्ष्यका साथ तयारी गर्न आग्रह गरे । उनले अनावश्यक हल्ला र विवादमा नलागी पार्टीको लक्ष्यमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीभित्रको एकतामा जोड दिँदै ओलीले गुटबन्दीले पटक–पटक पार्टीलाई क्षति पुर्याएको बताए । पार्टीहितविपरीत बोल्ने तथा अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन उनले निर्देशन दिए ।
संगठन सुदृढीकरणका क्रममा आवश्यकताअनुसार कमिटी तथा जनसंगठनको पुनर्गठन र पुनर्जागरण गरिने उनले बताए । तर पुनर्गठनलाई नेतृत्वविरुद्धको अभियान वा गुटबन्दीको माध्यम बनाउन नहुने उनको भनाइ थियो ।
ओलीले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी सम्पूर्ण रूपमा केन्द्रित हुनुपर्छ ।’
‘आफैं जागौँ, अरूलाई पनि जगाऔँ’ भन्ने मूल नारासहित पार्टीलाई एकताबद्ध, अनुशासित र गतिशील बनाउनुपर्नेमा जोड दिँदै उनले आन्दोलन र निर्वाचनको तयारीलाई प्राथमिकताका साथ अघि बढाउन कार्यकर्तालाई आग्रह गरे ।