झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदैमा पार्टी मैदान छाडेर भाग्ने नभई चुनौतीको सामना गर्दै अघि बढ्ने बताएका छन्। संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा देशको संस्कार, सभ्यता र संस्कृति जगेर्नाका लागि एमाले अविचलित रूपमा अघि बढ्ने उनले बताए।
झापामा आयोजित ‘एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ गर्दै ओलीले देशमा भइरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न नागरिक सचेत हुनुपर्ने बताए। देशलाई सही बाटोमा अघि बढाउने, शान्ति र लोकतन्त्र कायम गर्ने तथा संविधानको रक्षा गर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ थियो।
‘यो देश हाम्रो देश हो, नेपालीहरूको देश हो । तर देशलाई गलत बाटोमा लैजान कसैलाई पनि छुट छैन,’ ओलीले भने।
गत निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोरे पनि त्यसबाट निराश नहुन उनले कार्यकर्तालाई आग्रह गरे। एकपटक पराजित हुँदैमा मैदान छाड्ने एमालेको प्रवृत्ति नभएको उनको भनाइ थियो।
‘हामी चुनाव हार्यौं, नराम्रोसँग हार्यौं, तर चुनाव हार्दैमा मैदान छोडेर भाग्ने पार्टी नेकपा एमाले होइन,’ ओलीले भने, ‘कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ।’
एमाले परिस्थितिसँग जुधेर अघि बढ्ने पार्टी भएको दाबी गर्दै ओलीले देशको सभ्यता, संस्कार र संस्कृति जोगाउँदै समृद्धिको दिशामा अघि बढ्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए।