काठमाडौं। १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा विभागीय टोली एपीएफका क्षितिज खनाल र प्रिन्स दाहालबीच फाइनल भिडन्त हुने भएको छ।
ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेस क्लबका विष्णु कटुवाललाई १८–२१, २१–७, २२–२० ले पराजित गरे। अर्को सेमिफाइनलमा शीर्ष वरीयताका प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २२–२४, २१–१४, २१–१२ ले हराए।
फाइनलमा क्षितिज र प्रिन्सको यो प्रतियोगितामा दोस्रो भेट हुनेछ। लिग चरणको पहिलो खेलमै आमनेसामने भएका उनीहरूबीच क्षितिजले २–१ को जित निकालेका थिए। फाइनल प्रिन्सलाई त्यसको बदला लिने र क्षितिजलाई आफ्नो विजयी यात्रा कायम राख्ने अवसर हुनेछ।
महिला एकलतर्फ नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन र नेपाल पुलिसकी शेस्ना श्रीपाली फाइनलमा पुगेका छन्। रसिलाले पुलिसकी निता लम्साललाई २१–१३, २१–१३ ले तथा शेस्नाले एपीएफकी रिहाना शेरचनलाई २१–१६, २१–१८ ले पराजित गरे।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता भइरहेको छ।