इलाम। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढेको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउँदै पार्टीमा बस्ने भए नीति, विधि र अनुशासन पालना गर्न चेतावनी दिएका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई इलाममा सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्व हटाउने भन्दै भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ बताए।
पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने भन्दै उनले चिया पसल वा क्यान्टिनमा बसेर महाधिवेशनबाट निर्वाचित नेतृत्व हटाउने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे। ‘पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ,’ उनले भने।
बाह्य शक्ति र विरोधीले पार्टीमाथि प्रहार गरिरहेका बेला सिंगो पार्टी एकताबद्ध भएर त्यसको सामना गर्नुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने ओलीको भनाइ थियो। सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने गतिविधि रोक्न उनले कार्यकर्तालाई आग्रह गरे।
आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइने उनले बताए। कार्यकर्तालाई भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अघि बढ्न ओलीले आग्रह गरे।