काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जान लागेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रबार बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले पछिल्ला खेलमा भएका कमजोरी सुधार्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । पछिल्ला केही विदेशी भ्रमण अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उनले विपक्षीको राम्रो प्रदर्शनसँगै आफ्नै केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए ।
‘विगतमा हामीले जुन स्तरको प्रदर्शन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा हामी चुक्यौँ । हाम्रो आलोचना हुनु स्वाभाविक हो र त्यसको एउटै जवाफ भनेको मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु नै हो,’ उनले भने ।
मलेसिया जानुअघि नेपाली टोली थप तयारीका लागि भारतको बैंग्लोर जानेछ । त्यहाँ १० दिनको विशेष प्रशिक्षणले मलेसियाको कन्डिसनमा अभ्यस्त हुन सहयोग पुग्ने लामिछानेले बताए । टोलीमा अनुभवी र नयाँ पुस्ताका खेलाडीको राम्रो सम्मिश्रण रहेको र सबै उच्च मनोबलका साथ मैदान उत्रन तयार रहेको उनको भनाइ छ ।
नेतृत्व परिवर्तन भए पनि टोलीको साझा लक्ष्य नेपाललाई जिताउनु नै रहेको उनले बताए । ‘रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु मेरो जिम्मेवारी हो,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेकै एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी घर ल्याउनु हो ।’
पहिलोपटक एसिया कप खेल्दाको सफलतालाई दोहोर्याउने लक्ष्यसहित मलेसिया प्रस्थान गर्न लागेको उनले बताए । नेपाललाई बलियो एसोसिएट राष्ट्रका रूपमा स्थापित गर्न विदेशी भूमिमा समेत सन्तुलित र उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।