मलंगवा (सर्लाही) । मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा –३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेला परेका छन् ।
यहाँ दादुरा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार सङ्क्रमणको आशंका गरिएका २२ जनालाई उनीहरूकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्र गतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ ।
दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा. झाले बताए। सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाले अभिभावकलाई नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । समयमै खोप लगाउँदा दादुराजस्तो सङ्क्रामक रोगबाट बच्न सकिने कार्यालयको विश्वास छ ।