काठमाडौं । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणतर्फ समुद्रमुनि रहेको थियो। भूकम्पको केन्द्र ३५२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
साढे दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको सु सहर आसपास भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।
हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको विवरण सार्वजनिक भएको छैन।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) को वेबसाइटमा स्थानीय बासिन्दाले भूकम्पको धक्का लामो समयसम्म महसुस भएको बताएका छन्। उनीहरूका अनुसार सुरुमा हल्का महसुस भएको कम्पन क्रमशः तीव्र हुँदै गएको थियो।