काठमाडौं । कर्णाली याक्सका बलर नन्दन यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग खराब बलिङ गरेका कारण हार व्यहोर्नुपरेको बताएका छन्। शुक्रबारको खेलपछि प्रतिक्रिया दिँदै उनले ब्याटिङभन्दा पनि बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा टोलीले चुनौतीपूर्ण लक्ष्य पछ्याउनुपरेको बताए।
खेलमा डेविड मिलरबाहेक कर्णालीका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। यादवले उक्त पिचमा ब्याटिङ गर्न कठिन रहेको र १४० रनसम्मको लक्ष्य पछ्याउन सकिने अवस्था रहेको बताए। तर बलिङमा राम्रो गर्न नसक्दा विपक्षीले ठूलो लक्ष्य दिएको उनको भनाइ छ।
लक्ष्य पछ्याउँदा आवश्यक रनरेट बढ्दै गएपछि ब्याटरले आक्रामक खेल्न खोजे पनि पिचमा सहज रूपमा रन बनाउन नसकिएको उनले बताए। तीन विकेट गुमाएपछि साझेदारी निर्माण गर्ने प्रयास सफल हुन नसकेको उनको भनाइ थियो। सुदूरपश्चिमले भने राम्रो बलिङ गर्दै जित निकालेको उनले बताए।
लगातारको हारका बाबजुद टोलीले प्लेअफ पुग्ने सम्भावना नगुमाएको यादवको विश्वास छ। आगामी खेलमा जित निकाल्दै प्लेअफमा पुग्ने उनले बताए।
यादवले डेविड मिलरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको पनि बताए। मिलरले ब्याटिङका तरिका सिकाएको उल्लेख गर्दै उनले उनीसँग लामो समयदेखि सँगै खेलेको जस्तो अनुभव भएको सुनाए। मिलरले आफूहरूका लागि सधैँ सहयोगको ढोका खुला रहेको बताउने गरेको यादवको भनाइ थियो।
इनिङको अन्तिम बलमा इशान पाण्डेसँग भएको रमाइलो संवाद सम्झँदै यादवले डेथ ओभरमा बलिङ गर्नु कठिन हुने विषयमा कुराकानी भएको बताए।