काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता नेपाली चाडपर्वको सुन्दर पक्ष रहेको बताएका छन् ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पशुपन्छीप्रतिको सम्मान, प्रेम र सहअस्तित्व नेपाली संस्कृतिको महत्वपूर्ण विशेषता भएको उल्लेख गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले कागलाई यमराजको दूतका रूपमा मान्ने परम्पराअनुसार तिहारको पहिलो दिन मीठा परिकार खुवाएर सम्मान गर्ने चलन रहेको बताएका छन् ।
प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएकाले काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने विश्वास रहेको उनले स्मरण गरेका छन् । घरको आँगनमा काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने र दही–भात दिएर शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलनसमेत रहेको उनको भनाइ छ ।
उनले यमयातनाबाट मुक्तिको कामना गर्दै परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको चर्चा गर्दै यमराजलाई डरको प्रतीक मात्र नभई न्यायको प्रतीकका रूपमा समेत लिइने बताएका छन् । यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वास रहेको उनले उल्लेख गरेका छन् ।
धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै प्रधानमन्त्री शाहले सबैलाई निरोगी जीवनको शुभकामना पनि दिएका छन् ।
त्यस्तै, भोलि मनाइने कुकुर तिहारको सन्दर्भमा उनले मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरप्रति सम्मान व्यक्त गरेका छन् । घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म कुकुरले मानिसलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यस पर्वले अन्य जीवजन्तुप्रतिको प्रेम, कृतज्ञता र सहअस्तित्वको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
‘सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिऊन्,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन् ।