काठमाडौं । खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुन लागेको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो ।
खेल क्षेत्रमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्ने लक्ष्यसहित अघि बढेको ‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने जनाएको छ ।
खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन दृष्टिकोण रहेको छ । प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक तथा नैतिक विकास गर्दै स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ ।
‘पेसएक्स स्पोटर्स’ नेपालमा खेल व्यवस्थापन र खेलाडी विकासमा समर्पित संस्थाका रूपमा काम गर्नेछ । संस्थाले जगैदेखि खेलकुद विकास, खेलाडीको समग्र उन्नति तथा संस्थागत सहकार्यमार्फत दिगो र समावेशी खेलकुद प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
युवा पुस्तामा लगानी, खेल शिक्षा र समुदायको सक्रिय सहभागितामार्फत सक्षम खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने लक्ष्यसमेत संस्थाले लिएको छ ।
संस्थाका मुख्य कार्यक्षेत्रहरूमा खेलाडीको समग्र विकास, विद्यालय तथा कलेजस्तरीय खेलकुद कार्यक्रम, जगैबाट प्रतिभा पहिचान र विकास, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम, प्रतियोगिता सञ्चालन तथा सामुदायिक संलग्नता रहेका छन् ।