राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो र आज मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले नामावली प्रकाशन गर्न लागेको हो । आयोगद्वारा निर्धारीत निर्वाचन कार्यतालिका अनुरुप सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो ।
कार्यतालिका अनुसार भोली पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालले तालमेल गरि उम्मेदवार तय गरिसकेका छन् । तीन दलबीचको सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिटमा उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।