धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क भएका छन्। पहेँलो र सुन्तला रङका फूलले गाउँका पाखा तथा बारीको सौन्दर्य बढाउनुका साथै किसानमा आम्दानीको आशासमेत जगाएका छन्।
तिहार नजिकिएसँगै धनकुटाका फूल किसानलाई फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारो छ। तिहारमा घर सजाउनदेखि भाइटीकामा दाजुभाइलाई माला लगाइदिनेसम्म सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यसलाई आम्दानीको अवसरका रूपमा लिएका छन्।
छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेल यतिबेला आफ्नो खेतबारीमा फूल टिप्न र बजार पठाउन व्यस्त छन्। उनले श्री पौडेल कृषि फार्ममार्फत करिब १० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन्। तीन महिनाअघि रोपिएका बिरुवामा फूल फुलेपछि अहिले बिक्रीका लागि बजार पठाउने काम भइरहेको छ।
पौडेलले धनकुटासहित धरान, विराटनगर, बुटवल र काठमाडौंसम्म फूल पठाउँदै आएका छन्। जिल्लाभित्र र बाहिरबाट माग बढेकाले मागअनुसार फूल पुर्याउन कठिन भइरहेको उनले बताए। यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उनको लक्ष्य छ। हाल फूल प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए।
उनका अनुसार बजारअनुसार कतै किलोमा त कतै मुठाका आधारमा फूल बिक्री गर्ने गरिएको छ। तिहारलाई लक्षित गरेर फूलखेती गर्दा बजारको माग राम्रो भए पनि उत्पादनका क्रममा विभिन्न समस्या झेल्नुपरेको उनको अनुभव छ। तिहारभन्दा करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको उनले बताए।
धनकुटा नगरपालिका–७ का प्रवीण पोख्रेल पनि फूलखेतीबाट राम्रो आम्दानी गर्ने अपेक्षामा छन्। एक रोपनी क्षेत्रफलमा फूलखेती गरेका उनले यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।
विगतका वर्षमा भारतीय फूल तथा कृत्रिम मालाका कारण स्वदेशी किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ। नेपाली किसानले उत्पादन गरेको फूलले उचित बजार पाउन भारतीय फूल र कृत्रिम मालाको अनियन्त्रित आयात तथा प्रयोग नियन्त्रण गर्नुपर्ने उनको माग छ।
गत वर्ष भारतीय फूलको आयात नहुँदा स्थानीय किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री भएको स्मरण गर्दै उनले यस वर्ष पनि त्यस्तै वातावरण बनाउनुपर्ने बताए। बिचौलियाहरू फूल खरिद गर्न आए पनि आफूले उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्ने तयारी गरेको उनले जानकारी दिए।
गाउँको बारीदेखि सहरका बजारसम्म धनकुटाको फूल
धनकुटामा उत्पादित सयपत्री फूल स्थानीय बजारमा मात्र सीमित छैन। छिमेकी जिल्लादेखि तराईका विभिन्न सहर हुँदै काठमाडौं र बुटवलसम्म पुग्ने गरेको छ। यसले जिल्लामा फूलखेतीलाई किसानको आम्दानीको भरपर्दो माध्यमका रूपमा विकास गर्दै लगेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको छ। यस वर्ष करिब छ मेट्रिकटन फूल उत्पादन हुने अनुमान गरिएको छ।
ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यका अनुसार जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन्। फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि केन्द्रले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए।
फूलखेतीप्रति किसानको आकर्षण बढ्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै आचार्यले ज्ञान केन्द्रको तथ्याङ्कमा समेटिएको भन्दा बढी क्षेत्रफलमा समेत फूलखेती भइरहेको हुन सक्ने बताए।
कृत्रिम मालाको बढ्दो प्रयोगले स्वदेशी किसानलाई चुनौती
धनकुटामा फूलखेती विस्तार हुँदै गए पनि बजारमा भारतीय फूल र कृत्रिम मालाको बढ्दो प्रयोगले स्थानीय किसानलाई चुनौती थपेको छ। विशेषगरी तिहारका बेला आयातित फूल र कृत्रिम मालासँग प्रतिस्पर्धा गर्नुपर्दा स्वदेशी उत्पादनको बिक्री प्रभावित हुने गरेको किसानको गुनासो छ।
तिहारबाहेक अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ। आकर्षक देखिने र लामो समयसम्म टिक्ने भएकाले उपभोक्ताको रोजाइमा कृत्रिम माला पर्न थालेका छन्।
यस्तो अवस्थामा स्थानीयस्तरमै उत्पादित प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी वृद्धि हुनुका साथै स्वदेशी उत्पादनले बजार पाउने पौडेलको भनाइ छ।
प्राकृतिक फूलको प्रयोगले स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सहयोग पुग्ने सरोकारवालाको धारणा छ। वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनुपर्ने किसान पोख्रेल बताउँछन्।