काठमाडौँ।सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे तथा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।
न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो।
समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया गत कात्तिक १९ गतेदेखि सुरु गरेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशहरूविरुद्ध १३ वटा उजुरी परेका थिए।
संवैधानिक व्यवस्थाअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।