पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा बाढीपहिरोका कारण प्रभावित पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ। बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्न थालेको हो।
निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि असार, साउन र भदौमा घान्द्रुकको पर्यटन व्यवसाय निकै प्रभावित भएको थियो। अहिले सडकमा खसेका पहिरो पन्छाएर यातायात सहज बनाएपछि पर्यटक घान्द्रुक पुग्न थालेका छन्।
घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले सडक खुलेसँगै गाउँमा पर्यटकको चहलपहल सुरु भएको बताइन्। चाडपर्वसँगै पर्यटकीय सिजन सुरु भएकाले व्यवसायीमा पनि आशा पलाएको उनको भनाइ छ।
“असार, साउन र भदौमा पर्यटक लगभग शून्य नै थिए। अहिले विस्तारै आउन सुरु गर्नुभएको छ। चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो र बाटो पनि सहज भएको छ,” उनले भनिन्।
होटल रक एण्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले भने सडक खुलेको जानकारी पर्यटकसम्म पुर्याउन आवश्यक रहेको बताए। सडक अझै अवरुद्ध छ भन्ने बुझाइका कारण कतिपय पर्यटकले घान्द्रुक भ्रमणको योजना रद्द गरेको हुनसक्ने उनको भनाइ छ।
“पर्यटक आउन सुरु गर्नुभएको छ तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुन सक्छ। त्यसैले घान्द्रुकको बाटो सहज भएको र ढुक्क भएर घुम्न आउन सकिने सन्देश दिन जरुरी छ,” उनले भने।
उनका अनुसार सडक सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढे पनि विगतका वर्षको तुलनामा संख्या अझै न्यून छ। उनका होटलमा ४५ जनासम्मलाई आवासको व्यवस्था गर्न सकिने भए पनि अहिले दैनिक पाँच–सात जना मात्रै आउने गरेका छन्। अघिल्ला वर्षमा यही समयमा होटल भरिभराउ हुने गरेको उनले बताए।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार मौसममा सुधार र सडक सञ्चालनसँगै अहिले दैनिक दुईदेखि तीन सय पर्यटक घान्द्रुक पुग्न थालेका छन्।
“यो पर्यटक आउने मुख्य समय हो। यही बेला बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो। सबैको पहलमा बाटो सञ्चालन भएपछि पाहुना आउन थालेका छन्,” उनले भने।
उनका अनुसार विगतमा यही समयमा घान्द्रुकमा पर्यटकको चाप अत्यधिक हुने र बस्ने ठाउँ अभावमा पाहुना फर्काउनुपर्ने अवस्था समेत आउने गरेको थियो। यस वर्ष भने पर्यटकको संख्या विस्तारै बढिरहेको उनले बताए।
अध्यक्ष गुरुङले लगातारको वर्षाका कारण सडक अवरुद्ध भएको जानकारी पाए पनि सडक खुलेको विषयमा धेरै पर्यटक अनभिज्ञ हुनसक्ने भएकाले प्रचारप्रसार आवश्यक रहेको बताए।
“यो समय नेपाली पाहुना धेरै आउने समय हो। मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोस्, हामी स्वागत गर्न तयार छौँ,” उनले भने।
घान्द्रुकमा हाल करिब ९५ वटा होटल र ४५ वटा होमस्टे सञ्चालनमा छन्। पर्यटन व्यवस्थापन समितिका अनुसार ती होटल तथा होमस्टेमा दैनिक करिब दुई हजार पाँच सय पाहुनालाई आवासको व्यवस्था गर्न सकिन्छ। पर्यटकको संख्या बढेमा स्थानीय घरमै समेत थप व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए।
“पाहुना धेरै भएको अवस्थामा व्यक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ। गाउँमा आएका पाहुनालाई फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता हो,” उनले भने।