काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमदान अभियानको सुरुवात श्रम संस्कृति पार्टीले नभई एमालेले गरेको दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले बर्दियास्थित बबई सिँचाइ आयोजना निर्माणमा स्थानीयको श्रमदान महत्त्वपूर्ण रहेको र त्यसको नेतृत्व तत्कालीन एमाले सरकारले गरेको बताए ।
एमालेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियानमार्फत जनश्रमदानबाट देशका विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका काम भएको उनले उल्लेख गरे ।
‘श्रम संस्कृति पार्टीले श्रमको अभियान चलाएको होइन,’ ओलीले भने, ‘श्रमदानको साँच्चिकै अभियान बबई सिँचाइ आयोजना निर्माणका क्रममा बर्दियामा हजारौँ मानिसले दैनिक नहरदेखि बाँध निर्माण गर्ने कामबाट सुरु भएको थियो ।’
उनले संविधान निर्माणका क्रममा एमालेले स्थानीय तहलाई बलियो बनाउन जोड दिएको स्मरण गर्दै स्थानीय तह र प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइए पनि त्यसको कार्यान्वयन पक्षको समीक्षा गर्नुपर्ने बताए ।