काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् ।
शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने भनिए पनि निर्धारित समयभन्दा अगावै टिकटिङ प्लेटफर्ममा सबै टिकट बिक्री भइसकेको संकेत देखिएको थियो ।
दिउँसो १२ बजेर ५७ मिनेटमै प्लेटफर्ममा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो । यद्यपि, केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे सुरु हुने समय उल्लेख थियो ।
निर्धारित समय भएपछि टिकट खरिद गर्न खोज्दा पनि सफल नभएको दर्शकहरूले बताएका छन् । दिउँसो १ बजेर १ मिनेटमा प्रयास गर्दा समेत टिकट काट्न नसकिएको भन्दै उनीहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
बिक्री सुरु हुनुअघि नै टिकट ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट खरिद गर्न नपाउनुले टिकट वितरण प्रक्रियामाथि प्रश्न उठाएको छ ।
यसअघि पनि एनपीएलका खेलको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट सकिने गरेको भन्दै दर्शकले गुनासो गर्दै आएका थिए । फाइनल खेलको टिकट बिक्रीमा समेत उस्तै समस्या दोहोरिएपछि टिकट व्यवस्थापनको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेको छ ।