काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक मर्मत तथा निर्माण कार्य गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माण तथा मर्मतको काम गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो ।
उनले अर्को सूचना जारी नभएसम्म दैनिक उक्त समयमा राजमार्गमा सवारी सञ्चालन बन्द रहने जानकारी दिए । सडक निर्माणको काम कति दिनसम्म जारी रहने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।
घोप्टेभिर क्षेत्रमा निर्माण कार्य भइरहँदा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिनेछ । त्यस्तै, नारायणगढ हुँदै आउने सवारीसाधनलाई जुगेडी र आँपटारीमा रोकिने थापाले बताए ।
केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोक्ने व्यवस्था गरिएको छ । तर, मुग्लिन बजार क्षेत्रमा भने सवारी आवागमन नरोकिने उनले जानकारी दिए ।