काठमाडौं । पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत नेपालले शुक्रबार भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो पहिलो तथा समग्रमा चौथो खेल खेल्न लागेको हो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। समूह चरणमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिनेछन्।
प्रतियोगितामा बलियो टोलीका रूपमा हेरिएको भारत ‘ए’ सशक्त प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा छ। गत संस्करणमा सेमिफाइनलमा बंगलादेश ‘ए’ सँग सुपर ओभरमा पराजित भएको भारत यसपटक अघिल्लो हारको बदला लिने योजनामा हुनेछ।
नेपाल भने भारतीय टोलीलाई कडा चुनौती दिँदै प्रतियोगितामा आफ्नो प्रभाव देखाउने लक्ष्यमा छ। नेपाली टोलीको नेतृत्व कप्तान सन्दीप लामिछानेले गर्नेछन् भने भारत ‘ए’ को कप्तानी तिलक वर्माले सम्हाल्नेछन्।
यस खेलमा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने र भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि विशेष नजर रहनेछ। सन्दीपको लेग स्पिन नेपाली बलिङको मुख्य हतियार हुनेछ। उनलाई कुशल भुर्तेल र ललित राजवंशीको साथ रहने अपेक्षा गरिएको छ।
भारत ‘ए’ मा वैभव सूर्यवंशीसँगै अभिषेक शर्मा, रिंकु सिंह, तिलक वर्मा र प्रभसिमरन सिंहजस्ता चर्चित खेलाडी छन्। आक्रामक ब्याटिङका लागि परिचित अभिषेक र युवा प्रतिभा सूर्यवंशी नेपाली बलरका लागि चुनौती बन्न सक्छन्।
यसै वर्ष श्रीलंकामा सम्पन्न त्रिकोणात्मक शृङ्खलामा वैभवले २९ बलमा ९४ रन बनाउँदै आफ्नो क्षमता देखाएका थिए। भारतको यू–१९ तथा ‘ए’ टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी यस प्रतियोगिताका आकर्षणमध्ये एक हुन्।
वेस्ट इन्ड पार्कको पिच ब्याटिङ र बलिङ दुवैका लागि सन्तुलित रहने अनुमान छ। पिचमा गति र बाउन्स उपलब्ध हुने भएकाले तीव्र गतिका बलरले फाइदा उठाउन सक्छन्। ब्याटरले पनि राम्रो सुरुआत पाए ठूलो स्कोर बनाउन सक्नेछन्। यस्तो अवस्थामा टसले खेलको रणनीति निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
नेपालले भारतलाई दबाबमा राख्न सुरुआतमै विकेट लिनुपर्नेछ। सन्दीपको स्पिन र नेपाली तीव्र गतिका बलरको प्रदर्शनसँगै ब्याटरहरूले पनि जिम्मेवार खेल्नुपर्ने देखिन्छ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले टोलीमा केही परिवर्तन गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा घाइते भएका सोमपाल कामी प्रतियोगिताबाट बाहिरिएका छन्। उनको स्थानमा प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको छ। यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा ल्याइएको छ।
नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, प्रतिश जिसी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, रसिद खान र देव खनाल।
भारत ‘ए’ को टोली : अभिषेक शर्मा, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह, तिलक वर्मा (कप्तान), रिंकु सिंह, कुमार कुशाग्र, सूर्यांश शेडगे, शाहबाज अहमद, विप्राज निगम, हर्ष दुबे, तनुष कोटियान, हर्षित राणा, प्रिन्स यादव, अर्शद खान र आयुष बदोनी।