काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणलाई भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीच पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने होटल एसोसिएसन नेपाल (हान) ले बताएको छ । हानले भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवर्द्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेको छ ।
हानका अध्यक्ष विनायक शाहले नेपालमा भारतीय पर्यटक भित्र्याउने ठूलो सम्भावना भए पनि त्यसअनुसार उपलब्धि हासिल हुन नसकेको बताए । उनका अनुसार हाल वार्षिक औसत तीन लाख भारतीय पर्यटक नेपाल आउने गरेका छन् । यो संख्या सन् २०२८ को अन्त्यसम्म दोब्बर अर्थात् छ लाख पुर्याउने लक्ष्यसहित काम गर्नुपर्ने उनले बताए ।
भारतीय पर्यटक आगमन बढाउन सबैभन्दा पहिले हवाई कनेक्टिभिटी विस्तार गर्नुपर्ने शाहको भनाइ छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्राविधिक व्यवस्थासँगै राजनीतिक तहबाट भारतसँग आवश्यक निर्णय हुनुपर्ने उनले बताए ।
दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता ठूला सहरसँगै लखनउ, कानपुर, वाराणसी तथा बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाब, राजस्थान र गुजरातलगायतका क्षेत्रबाट नेपालमा सीधा हवाई सम्पर्क विस्तार गर्न सके पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनको भनाइ छ । यसका लागि नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई ती सहरबाट नियमित उडान सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने उनले सुझाए ।
शाहले धार्मिक पर्यटनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । विशेषगरी अयोध्या र जनकपुरबीच प्रस्तावित रेल सेवा सञ्चालन गर्न सके भारतीय तीर्थयात्रीलाई जनकपुरस्थित जानकी मन्दिरसम्म ल्याउन सकिने उनको विश्वास छ । जनकपुर आउने पर्यटकलाई त्यहीँ सीमित नराखी काठमाडौं, पोखरा र चितवनलगायतका गन्तव्यसम्म पुर्याउने एकीकृत पर्यटन प्याकेज बनाउनुपर्नेमा उनले जोड दिए । यसका लागि हानको मधेस प्रदेश च्याप्टर, ट्राभल एजेन्सी र पर्यटनसम्बद्ध संस्थासँगको सहकार्यमा कार्यक्रम तथा प्याकेज निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
धार्मिक पर्यटनसँगै खेलकुद, माइस (बैठक, प्रोत्साहनात्मक भ्रमण, सम्मेलन तथा प्रदर्शनी), व्यावसायिक भ्रमण र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने सम्भावित क्षेत्रका रूपमा अघि सारिएको शाहले बताए । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल र भारतबीच खेल पर्यटन विस्तारको सम्भावना देखाएको उल्लेख गर्दै उनले क्रिकेटलगायतका खेल गतिविधिलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न सकिने बताए ।
त्यस्तै, सम्पन्न भारतीय परिवारलाई नेपालमा विवाह समारोह आयोजना गर्न आकर्षित गर्ने विशेष प्याकेज र नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । भारतीय कम्पनीलाई नेपालमा व्यावसायिक बैठक, सम्मेलन र अन्य कार्यक्रम आयोजना गर्न प्रोत्साहित गर्न सके माइस पर्यटन तथा व्यावसायिक भ्रमण विस्तार हुने उनले बताए ।
शाहले भारतीय सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था मिलाउन पनि सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने बताए । यस्तो व्यवस्था भए ठूलो संख्यामा भारतीय कर्मचारी र उनीहरूका परिवारलाई नेपाल भ्रमणमा आकर्षित गर्न सकिने उनको तर्क छ ।
नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि यसअघि अघि सारिएका हिन्दु सर्किट र रामायण सर्किटलगायतका योजनाको कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्दै शाहले विगतका सहमति, अध्ययन र सिफारिसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्रीस्तरबाटै पहल हुनुपर्ने बताए ।
हानले प्रधानमन्त्रीको भारत भ्रमणमा यी विषयलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी आर्थिक कूटनीतिको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउन आग्रह गरेको छ । भारतीय पर्यटकको संख्या दोब्बर बनाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने अवसर विस्तार गर्ने गरी प्याकेज विकास गर्न सके दुवै देश लाभान्वित हुने शाहको भनाइ छ ।