चन्दा क्षेत्री/काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नबाट एक रनले चुकेका छन् । उनले ९९ रन बनाउँदै एनपीएलमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनायो । यो एनपीएल इतिहासकै सर्वाधिक योगफल हो । पोखराले काठमाण्डु गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ ।
कुशलले ५० बलमा आठ छक्का र आठ चौकाको मद्दतमा ९९ रन बनाए । शतकबाट एक रनले चुके पनि उनले एनपीएलमा नेपाली खेलाडीले बनाएको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर आफ्नो नाममा लेखाएका छन् ।
युवराज साम्राले पनि आक्रामक ब्याटिङ गर्दै ५५ बलमा पाँच छक्का र आठ चौकासहित ८९ रन जोडे । कुशल र युवराजको उत्कृष्ट ब्याटिङमा पोखराले कीर्तिमानी योगफल तयार पारेको हो ।
काठमाण्डुका करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए ।