काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरमा सुधार हुन नसकेको भन्दै समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
दुर्गम क्षेत्रसँगै सहरी क्षेत्रमा समेत टेलिकमको नेटवर्क तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो आइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सेवाको गुणस्तर सुधारमा केन्द्रित हुन टेलिकमका अधिकारीलाई निर्देशन दिएका हुन्।
उनले नेटवर्कमा समस्या आउनुको वास्तविक कारण पहिचान गरी समाधानका उपाय तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। देशभरका टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषयमा समेत स्पष्ट अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने तथ्यांकसहित विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिँदै उनले सेवा प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापन गर्न सरकार तयार रहेको बताए। कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुन नहुने उनको भनाइ थियो।
नेपाल टेलिकमको सेवा सुधार, टावरको क्षमता वृद्धि तथा आवश्यक पूर्वाधार विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ) को रकमसमेत उपयोग गर्नुपर्ने मन्त्री तिमिल्सिनाले बताए।
देशका विभिन्न स्थानमा टावर स्थापना भए पनि नेटवर्क नचल्ने र कमजोर हुने समस्या देखिएको भन्दै उनले नयाँ पूर्वाधार निर्माणसँगै सञ्चालनमा रहेका टावरको क्षमता र अवस्थासमेत सुधार गर्नुपर्नेमा जोड दिए।
नेपाल टेलिकमका अनुसार देशभर करिब पाँच हजार टावर सञ्चालनमा रहेकामा आज करिब ५० वटाको सेवा प्रभावित भएको छ। सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि थप एक हजार ६०० नयाँ टावर निर्माण गर्न बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ।
नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुनिश्चित नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विद्यमान टावरको क्षमता अभिवृद्धि र प्रभावकारी सञ्चालनमा समेत ध्यान दिन निर्देशन दिए।
टेलिकमका अनुसार गत वर्ष देशभरका विभिन्न टावरमा दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएको थियो। विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि सेवा सञ्चालन गर्न सहरी क्षेत्रका टावरले चारदेखि छ घण्टा र दुर्गम क्षेत्रका टावरले आठदेखि १० घण्टासम्म धान्न सक्ने व्यवस्था गरिएको छ।
यद्यपि, विद्युत् अवरुद्ध भएका बेला इन्टरनेट डाटा नचल्ने समस्या रहेको भन्दै मन्त्रालयमा गुनासो आउने गरेको छ। यस विषयमा पनि मन्त्री तिमिल्सिनाले सेवा प्रदायकको वास्तविक अवस्था स्पष्ट पार्न र समस्या समाधान गर्न निर्देशन दिए।
‘टेलिकमले सबैतिर गुणस्तर ठीक छ भनिरहेको छ। तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन्। तपाईंहरूको कमजोरी के हो ? सुधारका उपाय शीघ्र खोज्नुहोस्। के-कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ’, उनले भने।
मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमका देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिएका छन्। साथै, ब्याकबोन प्रसारण निर्देशनालयसँग नेटवर्क विस्तारको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।
जवाफमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवाको गुणस्तर सुधार गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन्। पुराना टावरको क्षमता वृद्धि र नयाँ टावर थप्ने काममार्फत सेवा पहुँच तथा गुणस्तर सुधारका प्रयास भइरहेको उनले जानकारी दिइन्।
उनका अनुसार टेलिकमका टावरहरूको सेवा गुणस्तर नियमित रूपमा परीक्षण भइरहेको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा बढी समस्या आउने र त्यसले टावरको सेवा प्रभावित पार्ने गरेको टेलिकमले जनाएको छ।
छलफलमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत अधिकारी सहभागी थिए।