काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसक्दा पनि छैटौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति छैटौं पटक बन्न नपाउँदा असन्तुष्ट हुने गरेको बताएका हुन् ।
‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौं पटक भएन भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने ।
कांग्रेसका पूर्वसभापति देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । तर, गत भदौमा भएको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उक्त सहमति कार्यान्वयन हुन सकेन । त्यसपछि गत फागुनमा भएको निर्वाचनमा देउवा उम्मेदवारसमेत बनेनन् ।
थापाले देउवा कांग्रेसको सभापति तेस्रो पटक बन्न नपाएकोमा समेत असन्तुष्ट रहेको दाबी गरे । कांग्रेसको विधानअनुसार सभापति दुई कार्यकालभन्दा बढी हुन पाउने व्यवस्था छैन ।
‘दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ,’ थापाले भने, ‘हामीले हेर्ने हो भने मञ्चमा बसेका, जिम्मेवारी पाएका हामी सबै पनि असन्तुष्ट हुन्छौँ।’
देउवा कांग्रेसको सभापति दुई पटक भइसकेका छन् । पार्टी विधानले तेस्रो पटक सभापति बन्ने बाटो बन्द गरेको छ ।