काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी तथा पञ्चरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै निधारमा टीका लगाइदिने परम्परा छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।
परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने गर्छन्। दिदीबहिनीको पूजा तथा सम्मान गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि, दिनभर टीका लगाउन कुनै बाधा नरहेको उनले राससलाई जानकारी दिए। राज्य सञ्चालकहरूले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि सोही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। शास्त्रीय मान्यताअनुसार शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने उनको भनाइ छ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि मूल थालीमा बनाइएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायत चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा विभिन्न देवताको पूजा आराधना गर्ने धार्मिक विधि रहेको छ।
यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्याउने चलन छ।
पछिल्लो समय सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, दक्षिणा तथा सौभाग्यका प्रतीक सामग्री उपहार दिएर सम्मान प्रकट गर्ने सामाजिक तथा धार्मिक परम्परा छ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाको दिन काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर उनीहरूले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनका लागि बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ।
त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरू भेला भएर पूजा, दर्शन तथा टीका ग्रहण गर्ने चलन रहेको संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिएका छन्।
उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गर्ने गरिएको थियो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे। अहिले पनि भाइटीकाका दिन उक्त मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ।
विसं २०३५ पछि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट मन्दिर क्षतिग्रस्त भएपछि पुनर्निर्माण सम्पन्न नभएसम्म अर्थात् विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो।
नेवार समुदायमा किजापूजा
भाइटीकाकै दिन नेवार समुदायले किजापूजा मनाउने गर्छन्। कुल परम्परा र चलनअनुसार नेवार समुदायका केहीले भाइटीकाकै दिन र केहीले अघिल्लो दिन किजापूजा गर्ने परम्परा छ।
भक्तपुरका अधिकांश नेवार समुदायले भने सोमबार नै किजापूजा मनाएका छन्। भक्तपुर तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार त्यहाँका नेवार समुदायले अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेको जनाइएको छ।